माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना हुने

242
SwadeshPost

सिम टिभीसंगको सहकार्यमा माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना हुन लागेको छ । माडीको बघौंडामा मुख्यालय रहेको ओसोनिक केबुल टि.भी.ले माडी उपत्यकाभर केबुल टेलिभिजन वितरण गर्न लागेको, सो केबुल नेटवर्कका सञ्चालक निरोज चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । यस प्रणालीमार्फत एकैचोटी टेलिभिजनसंगै इन्टरनेट सेवा समेत प्रदान गरिने उहाँको भनाई छ । सुरुवातमा बसन्तपुर र बरुवा बजारमा फाइबर सञ्जालमार्फत केबुल टिभी र इन्टरनेट प्रदान गरिने र यसलाई क्रमशः बिस्तार गरिँदै लगेर माडी उपत्यकाभर पु¥याइने जनाइएको छ ।

ओसोनिक केबुल टि.भी.ले गत २०६३ देखि २०६६ सालसम्म एनालग प्रणालीमार्फत माडीको बसन्तपुरमा केबुल लाइन बितरण गरेको थियो । सो समयमा जेनेरेटरबाट दैनिक ४ घण्टा केबुल लाइन वितरण गरी माडीमा केबुल प्रशारण गरिएकोमा बिद्युतसेवाको समस्याका कारण केबुल लाइनलाई निरन्तरता दिन नसकिएको सो नेटवर्कका सञ्चालक चौधरीले स्मरण गर्नुभयो । अब, आउँदो मंसिर अन्तिम सातासम्ममा डिजिटल प्रणालीको अप्टिकल फाइबर प्रबिधीमार्फत हाल बजारमा उपलब्ध एच.डी. र एस.डी.च्यानलहरु निःशुल्क सेटअप बक्समार्फत घरघरमा उपलब्ध गराइने कम्पनीको योजना रहेको चौधरीको भनाई छ ।

SwadeshPost