माडीको शिवद्वारमा सोमबारदेखि बेटर युथ क्याम २०७५ सञ्चालन

177
SwadeshPost

बेटर चितवन अभियानको आयोजनामा साेमबारदेखि माडीको शिवद्वारमा बेटर युथ क्याम २०७५ सञ्चालन सुरु भएको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारासहित सञ्चालन भइरहेको सो क्याम्पमा अभियानसम्बद्ध ३० जना युवाहरुको सहभागिता रहेको अभियानका संयोजक सागर कार्कीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

बिहान ११ बजे सुरुवात भएको साेमबारको कार्यक्रममा होम बहादुर बस्नेतले उद्यमशीलता र सकारात्मक सोचको बिषयमा तथा लेखक एवं अधिकारकर्मी सरिता तिवारीले वर्तमान राजनीति र युवाहरुको भुमिका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साेमबार राती युवा नेतृत्व विकासका बिषयमा प्रस्तुती रहने तथा मंगलबार बिहान ९ बजे माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी विकासको सम्भावना र चुनौती तथा यसमा युवाहरुको भूमिकाका बिषयमा प्रस्तुती गर्नुहुने आयोजकले जनाएको छ । कार्तिक २७ गते मंगलबारसम्म जारी रहने सो क्याम्पका सहभागीहरुबिच माडी र भरतपुर बीचको दुरीलाई कसरी कम गर्ने साथै माडी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विकास ल्याउन के गर्नुपर्छ भन्ने विषयमा अन्तरसम्वाद गरिने कार्यक्रम रहेको छ ।

बेटर चितवन अभियान नामको सो संस्थामा हाल करिव ७० जना युवाहरु आवद्ध रहेका छन् । करिब तीन वर्षदेखि सक्रिय रहिआएको सो अभियानले चितवनमा युवा, शिक्षा, स्वास्थ्य, संस्कृती, वातावरण, प्रविधी र अर्थव्यवस्था गरी सात क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ ।

SwadeshPost