माडी नगरपालिका वडा नं. २ कार्यालयद्वारा उपभोक्ता समिति गठन

188
SwadeshPost

माडी नगरपालिका वडा नं. २ कार्यालयले बुधबार शुभकामना आदानप्रदान तथा उपभोक्ता समिति गठन कार्यक्रम सम्पन्न गरेको छ । बरुवा बजार नजिकै, चिताई खोलाको चौरमा शुभकामना आदानप्रदानसंगै आर्थिक बर्ष २०७५/७६ को बिकास बजेटको उपभोक्ता समितिहरु गठन गरिएको वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

कार्यक्रमबाट गत आर्थिक बर्षका अधुरा योजनाहरु सम्पन्न गर्नका लागि १२ लाख रुपैंयाको बजेट परिचालन गर्न बालमुकुन्द तिमिल्सिनाको संयोजकत्वमा सचिव नारायण प्रसाद पौडेल र कोषाध्यक्ष ठगनी कुमारी महतो रहेको ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । त्यसैगरी सिंचाई कार्यक्रमका लागि विनियोजित ४५ लाख रुपैंया मध्येको बोरिङ शीर्षकको २७ लाख परिचालनका लागि रामकृष्ण पौडेलको संयोजकत्वमा राजमान बि.क. सचिव तथा उमा बि.क. कोषाध्यक्ष रहनुभएको अर्को उपभोक्ता समिति गठन गरिएको छ ।

त्यस्तै संरक्षणका लागि मेसजाली कार्यक्रमका लागि विनियोजित ८ लाख रुपैंयाको कामका निम्ति श्रीराम श्रेष्ठ संयोजक, कृष्ण प्र. ढकाल सचिव तथा बिष्णु सुवेदी कोषाध्यक्ष रहनुभएको उपभोक्ता समिति बनेको छ भने भौतिक निर्माण एवं अनुदान शीर्षकको ८ लाख रुपैंयाको निम्ति भीम प्र. महतोको संयोजकत्वमा माधव पौडल सचिव र सुक्रमिया महतो कोषाध्यक्ष रहनुभएको छुट्टै उपभोक्ता समिति बनेको छ । ह्युम पाइप तथा बाटो निर्माण र ग्राभेल कार्यका लागि विनियोजित २४ लाख रुपैंयाको काम सम्पन्न गर्नका लागि भने आज उपभोक्ता समिति चयन हुन सकेन ।

त्यसैगरी भेलाले वडाको विकासका कार्यक्रमहरु अनुगमनका लागि केदार अधिकारी, नारायण प्रसाद अधिकारी, शिवनारायण गुरौ, विश्वमती महतो, बिष्णु सुवेदी र वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल रहनुभएको अनुगमन समिति समेत गठन गरेको छ । वडाध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा विशिष्ट अतिथि नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो ।

SwadeshPost