माडी उपत्यकामा सञ्चालीत तीन दिने मत्स्य स्वास्थ्य घुम्ती शिविर सम्पन्न

310
SwadeshPost

माछाको पकेट क्षेत्रका रुपमा चर्चित रहेको माडी उपत्यकामा पहिलोपटक मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा माडीमा तीन दिनसम्म माछा तथा माछापोखरीको अवस्था जाँच्ने शिविर सञ्चालन भएको हो । शिविरमा पूर्वी माडीको बगहीँदेखि पश्चिमी माडीको शिकारीपुरसम्मका १३६ जना माछापालक किसानहरुको पोखरी परीक्षण गरिएको मत्स्य पकेट क्षेत्र माडीका संयोजक नेत्रनाथ आलेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

माडी उपत्यका भरको शिविरमा मुलभुत रुपमा माडीको माछाको स्वास्थ्य अवस्था राम्रो रहेको र पोखरीको पानीको गुणस्तर समेत ठीक रहेको निष्कर्ष निकालिएको छ । पश्चिमी माडीको शिकारीपुरमा भने एकवटा पोखरीको पानीमा एमोनियाको मात्रा धेरै रहेको अध्ययनले देखिएको छ । माडी भर दुईवटा टोलीमार्फत शिविर सञ्चालन गरिएको थियो ।

यसैबिच, शुक्रबार बिहान माडी नगरपालिकामा एक संक्षिप्त कार्यक्रमबिच शिविरको समापन गरिएको छ । कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, मत्स्य पकेट क्षेत्र रहेका वडाका वडाध्यक्षहरु, मत्स्य पकेटका प्रतिनिधीहरु र केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

SwadeshPost