माडीको बरुवा बजारमा खानेपानी ट्याङ्की निर्माण कार्य पुरा

113
SwadeshPost

तराई मधेश खानेपानी आयोजना अन्तरगत माडीको बरुवा बजारमा खानेपानी ट्याङ्की निर्माण पुरा भएको छ । नेपाल सरकारको केन्द्रीय बजेट अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरद्धारा सो ओभरहेड ट्याङ्कीको निर्माण गरिएको हो ।

करीब १५ करोड रुपैंयाको लागत पुग्ने सो खानेपानी आयोजनाको पाइप लाइनिङ र धारा बितरण कार्य भने बाँकी रहेको खानेपानी आयोजनाका सचिव नारायण अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । बहुबर्षीय योजनाका रुपमा सो खानेपानी परियोजना गत २०७२ सालमा सुरुवात भएको थियो । सुरुको बर्षमा २५ लाखको लागतमा डिप बोरिङ गरिएको र त्यसपछि २०७३ सालमा १५ लाखको लागतमा पम्प हाउस निर्माण गरिएको थियो । आर्थिक बर्ष २०७४/७५ मा बिनियोजित करीब २ करोडको लागतमा सो ओभरहेड ट्यांकीको निर्माण गरिएको हो ।

४ लाख ५० हजार लिटर पानी अँट्ने क्षमता रहेको सो ट्यांकीमा संकलित शुद्ध पिउने पानी साविकको गर्दी गाउँ विकास समितिका सम्पूर्ण घरहरुमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ । जारी आर्थिक बर्षभित्रै बरुवा बजारमा खानेपानी वितरण गर्ने योजना रहेको सचिव अधिकारीको भनाई थियो । ओभरहेड ट्यांकी जमीनबाट २० मिटरको उचाईमा निर्माण गरिएको र परीक्षणस्वरुप हाल त्यसमा पानी भरिएको अवस्था रहेको छ ।

SwadeshPost