जनावरहरुको उचित व्यवस्थापन नगरिए राजिनामा दिने मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुकाे घोषणा

249
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुको उचित व्यवस्थापन नगरिए माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले राजिनामा दिने घोषणा गरेका छन् । हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएसंगै स्थानीयबासीहरुले जनताको जीउधन सुरक्षित हुनुपर्ने, दिनरात जनधनको क्षती गरिरहेको जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग राखी आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत पक्षसंग आज बुधबार साँझपख भएको छलफलबाट अध्यक्षहरुका तर्फबाट सो घोषणा गरिएको हो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी समेत सहभागी रहनुभएको सो छलफलबाट आजका लागि आन्दोलन स्थगित गरी भोलि बिहीबार चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुको उपस्थितिमा थप छलफल गरिने सहमती भएको हो ।

आज माडी नगरपालिका वडा नं. ९ टम्टामा अन्दाजी ३०बर्षीया शुसिला भण्डारी र ६० बर्षीया कृष्णकली पौडेलको दिउँसो ३ बजे जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । घरपछाडी रीउ खोला छेउमा घाँस काटिरहनुभएको अवस्थमा तीनजनाको संख्यामा रहेका उहाँहरुलाई अचानक हात्तीले आक्रमण गर्दा एकजना भाग्न सफल हुनुभएको थियो भने भण्डारीलाई रीउको बगरमै हात्तीले किचेको थियो । त्यसैगरी पौडेललाई हात्तीले लखेट्दै चितवन राष्ट्रिय निकुञ्जतर्फ लगेकोमा वगरको करीब १०० मिटर दुरीमा उहाँको शव भेटिएको हो ।

SwadeshPost