दुई महिलाहरुको मृत्यु भएसंगै बिहिबार दिनभर माडी उपत्यका अान्दालित

318
SwadeshPost

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै बिहिबार स्वतस्फूर्त रुपमा माडीको जनजीवन प्रभावित हुनेगरी आन्दोलन उठ्यो । बिहीबार बिहानैदेखि माडीका चोक एवं बजार क्षेत्रमा स्वतस्फूर्त रुपमा आन्दोलनकारीहरु सडकमा निक्लिएर प्रदर्शन गरेका थिए भने माडीको सार्वजनिक यातायात सेवा बन्दप्रायः देखिएको थियो । हात्तीको आक्रमणमा परी बुधबार माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३० की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको मृत्यु भएसंगै बुधबार साँझदेखि आन्दोलन सुरु भएको थियो ।

माडीमा आन्दोलनको केन्द्रका रुपमा टम्टा बजार बिहिबार दिनभर चर्चामा रह्यो । बिहानपख उर्जाशील रहेको भीड दिउँसो केही सेलाएको महसुस गरिएको थियो । तर दिउँसो करीब २ बजेतिर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल तथा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको टोली टम्टा आइपुगेपछि भने एकाएक आन्दोलनकारीहरु जुर्मुराएका थिए । उहाँहरुको आगमन हुनुअघि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, माडीका सम्पूर्ण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु लगायतको टोलीले स्थानीयबासी एवं आन्दोलनरत पक्षलाई सकेसम्म जवाफ दिने प्रयास गरेको देखिन्थ्यो । टम्टा क्षेत्रमा केन्द्रीकृत भएका माडीबासीहरुले निकुञ्ज ऐनको जनपक्षीय शंसोधन नगरिएसम्म मानव र बन्यजन्तुबिचको द्वन्द नहट्ने भन्दै स्थानीयबासीहरु पटक पटक जनधनको क्षती हुने क्रम रोकिने पूर्ण ग्यारेन्टीको माग गर्दै सडकमा मुढा तेर्साई आन्दोलित भएका थिए ।

तर, पुनः पुरानै समस्या दोहोरिएको छ । आन्दोलनले तार्किक निष्कर्ष पाउनु अगावै सो आन्दोलन सम्झौता सकिएको छ । माडीमा हात्तीको आक्रमणबाट मृत्यु भएका दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जले प्रति व्यक्ति रु. १० लाख क्षतिपूर्ति दिने तथा किरिया खर्च स्वरूप २५÷२५ हजार रुपैयाँ पनि निकुञ्जले बेहोर्ने सहमति भई आन्दोलन सकिएको हो । यी बुँदाहरु कुनै आन्दोलन नगर्दा समेत पीडित पक्षले पाउने व्यवस्था रहेको छ । सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । तर माडीका नगर प्रमुख ढकालले भने स्वदेश एफ.एम.संग कुराकानी गर्दै निकुञ्ज ऐन शंसोधनको आफ्नो आन्दोलन सुरुवात भएको जनाउनुभएको छ । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माडीमा ल्याउने प्रयत्न गरिएका उहाँको भनाई छ । प्रचण्डमार्फ ऐन शंसोधनको काम अगाडी बढ्ने उहाँको भनाई छ ।

SwadeshPost