जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा माडीका लागि कुनै योजना परेन

552
SwadeshPost

चितवन जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा यसपटक नदी कटान र बाढीले सर्बाधिक प्रभावित माडी क्षेत्रका लागि कुनै योजना परेकाे छैन । चितवन हुँदै बग्ने नदी, खोला र घोलमा जारी आर्थिक बर्षभित्रै पुरा हुनेगरी संघीय सरकारले ४३ करोड रकम विनियोजन गरेकोमा त्यसबाट नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो । आयोजना प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु ८ करोड, कयर खोलामा रु १५ करोड राप्ती र केरुङ्गा रु ४/४ करोड लागतमा तटबन्ध गर्न लागिएको हो । आर्थिक बर्ष २०६६/६७ मा जनताको तटबन्धन नामबाट शुरु भएको सो आयोजनाले सुरुवातमा नारायणी नदीमा मात्रै तटबन्धन गर्ने गरेको भएपनि हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग मिसिएर जिल्लाभरी तटबन्धनको जिम्मेवारी पाएको छ ।

आयोजनाको रकमबाट नारायणी नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्युरेचोक, केरुङ्गे र मझुवा बन, नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारी तथा पूर्वी चितवनको कयर खोलामा तटबन्ध गरिने जनाइएको छ । तर बाढी र बज्यजन्तुजन्य बिपद्संगै बाढीको चरम संकट रहेको माडी उपत्यकामाको तटबन्धनका लागि भने कुनै योजना नसमेटिएको हो । माडीको योजना नपरेकोमा माडीका राजनैतिक अगुवाहरु नै अचम्मित परेका छन् ।

SwadeshPost