माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुने तय

143
SwadeshPost

आउँदो पौष ६ र ७ गते बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुने तय भएको छ । प्रतियोगिता सञ्चालनका लागि शुक्रबार शिक्षक अनुप तिवारीको संयोजकत्वमा ९ सदस्यीय भलिबल प्रतियोगिता मुल आयोजक समिति गठन गरिएको छ । समितिका सचिवमा युवराज लामिछाने र कोषाध्यक्षमा यदुप्रसाद पौडेल रहनुभएको छ भने सदस्यहरुमा कृष्ण चौधरी, केवल प्रसाद महतो, भविश्वर ढकाल, कृष्ण महतो, मेघनाथ गौतम र चन्द्रमणी महतो रहनुभएको छ ।

प्रतियोगिता अन्तरगत महिला र पुरुष शिक्षकहरुको छुट्टाछुट्टै खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा महिला शिक्षकहरुको करीब ६ वटा टिम र पुरुष शिक्षकहरुको करीब १४ वटा टीम सहभागी रहने प्रारम्भीक अनुमान गरिएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक अनुप तिवारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः ८०००, ५००० र २००० रहेको छ भने खेलको मुख्य सहयोगी माडी नगर खेलकूद तथा साँस्कृतिक विकास समिति रहेको छ । प्रतियोगिताको पौष ६ गते माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुहुने जनाइएको छ ।

SwadeshPost