पश्चिमी माडीको परशुराम कुण्डमा मन्दिर निर्माण हुने

103
SwadeshPost

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा रहेको परशुराम कुण्डमा मन्दिर निर्माण हुने भएको छ । त्यस कार्यका लागि माडी नगरपालिका वडा नं. १ र २ को संयुक्त टोलीले बिहीबार सो क्षेत्रको भ्रमण गरेको छ । नारायणगढका व्यवसायी रामकुमार श्रेष्ठको समूहले परशुराम कुण्डमा मन्दिर निर्माण गर्ने जनाएसंगै सो क्षेत्रको भ्रमण गरिएको हो ।

भ्रमण टोलीमा मन्दिर निर्माण गर्ने जनाएको समूहसंगै वडाध्यक्षद्वय कृष्णप्रसाद पौडेल र ईश्वरी ढकालसंगै वडाका अगुवाहरु धनबहादुर गुरुङ, शिव कार्की, भरत तिमिल्सिना, माडी नगरपालिका प्राविधिक शाखाका कर्मचारीहरु रामदरेश यादव र रोहन चौधरी तथा वाइन टु वाटरका फिल्ड स्टाफ अभिषेक बस्नेतसंगै बनकट्टा पोष्टका शैनिकहरुको समेत सहभागिता रहेको थियो ।

हरेक बर्ष रामनवमी पर्वका अवसरमा गोद्धकधाममा मेला लाग्ने गर्दछ, जसमा आउने दर्शनार्थीहरु मनोरम झरना समेत रहेको परशुराम कुण्ड पुग्ने गर्दछन् । प्राचीन किंवदन्ती अनुसार परशुराम कुण्डमा परशुरामले तपस्या गरेका थिए । परशुराम कुण्डमा नुहाएमा पाप नाश हुने धार्मिक विश्वास रहेको छ ।

SwadeshPost