तुलसीपुरमा बस दुर्घटना १६ जनाको मृत्यु, थप विवरण आउन बाँकी

297
SwadeshPost

दाङको तुलसीपुर उपमहानगरपालिका- ३ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बस दुर्घटनामा १ जना महिला र ९ जनाको शव बस अड्किएको स्थानमा फेला परेको छ भने १३ जनाको जीवितै उद्धार गरिएको छ ।

शाहीका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ भने गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । शाहीका अनुसार बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियाे । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको छ ।

SwadeshPost