मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताः महिलातर्फ दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम

137
SwadeshPost

बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको प्रतिस्पर्धामा दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम भएको छ । महिलातर्फ आधारभूत विद्यालय जीवनपुर र आधारभूत विद्यालय सेरुवाको संयुक्त टोली दोश्रो तथा आधारभूत विद्यालय दक्षिण अयोध्यापुरी र गणेश आधारभूत विद्यालय गणेशकुञ्जको संयुक्त टोली तेश्रो हुन सफल भएको छ ।

पुरुष शिक्षकहरुतर्फको खेल अन्तरगत शनिबार सोमेश्वर माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको छ । सोमेश्वर माध्यमिक विद्यालयले डिफेन्डीङ च्याम्पीयन समेत रहेको ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यसैगरी अाइतबार दिवाकर स्मृति विद्यालयको ए टोली तथा माडी माध्यमिक विद्यालयको ए टोलीबिच खेल भई फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । प्रतियोगितामा पुरुष शिक्षकहरुको १५ वटा र महिला शिक्षकहरुमा १० वटा टोलीबिच प्रतिस्पर्धा रहेको थियो ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः ८०००, ५००० र २००० सहित मेडल र ट्रफी रहेको छ भने खेलको मुख्य सहयोगी माडी नगर खेलकूद तथा साँस्कृतिक विकास समिति रहेको छ । पुरस्कार वितरण एवं समापन भोलि दिउँसो ४ बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।

SwadeshPost