माडीमा भुस्याहा कुकुरहरूको बितण्डाः बाख्रापालक कृषकहरु समस्यामा

138
SwadeshPost

माडीको ग्रामीण क्षेत्रका बाख्रापालक कृषकहरु भुस्याहा कुकुरको बितण्डाका कारण समस्यामा परेका छन् । कुकुरहरुको झुण्डले किसानहरुले पालेका माउ बाख्रा र पाठापाठीहरुलाई घेरामा पारी आक्रमण गरेर आन्द्रा भुँडी निकाली मार्ने गरिरहेका छन् ।

माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरमा खेतमा बाँधिएका ७ वटा बाख्रा र पाठापाठीहरुलाई भुस्याहा कुकुरहरुले मारेका हुन् । स्थानीय बाख्रापालक कृषक संगिता सुनारका २ वटा, राम सुनारका पनि २ वटा र भगन भुजेलको १ वटा बाख्रालाई भुस्याहा कुकुरहरुको समूहले मारेको हो । यसअघि माडी नगरपालिका–३, पौहारी र धोबाहामा यस्तै प्रकारको आक्रमणमा माउ बाख्राहरु मारिएको सार्वजनिक भएको थियो ।

योसंगै, माडीको बजार क्षेत्रमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम पनि बढेको छ । यसअघि, हरेक बर्ष भदौ महिना सकिएसंगै स्थानीय युवा क्लबहरुको पहलमा भुस्याहा कुकुर नियन्त्रणको प्रयास हुने गरेको थियो । तर पछिल्ला दिनहरुमा पशु अधिकारकर्मीहरुले यो कुरामा बिरोध जनाउन थालेसंगै क्लब सम्बद्ध युवाहरुमा भुस्याहा कुकुर नियन्त्रणप्रति खासै जागरुकता बढेको देखिँदैन । कुकुरहरुलाई नियन्त्रणका लागि बन्ध्याकरण लगायतका आधुनिक उपायहरु अपनाई तत्कालै कुकुर नियन्त्रणको उपाय अपनाउँन माग गरिएको छ ।

SwadeshPost