माडीको रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवतको तयारी

755
SwadeshPost

माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । महायज्ञ भव्यतापूर्वक सम्पन्न गर्न स्थानीयबासी झनक प्रसाद अधिकारीको संयोजकत्वमा मंगलबार १५१ सदस्यीय महायज्ञ मुल आयोजक समिति गठन गरिएको छ । दिवानगर तथा वरपरकाका गाउँबासी एवं महिला समूहहरुको संयुक्त भेलाले मंगलबार सो समिति गठन गरेको हो । मंगलबार स्थानीय दिवानगर महिला समूहले मन्दिर वरपरको क्षेत्र सरसफाई समेत गरेको छ ।

रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक अधिकारीले जनाउनुभयो । महायज्ञबाट संकलित श्रोतबाट शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउँदै सो क्षेत्रलाई चितवनकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउने उद्देश्य रहेको छ ।

महायज्ञमा माडीका चर्चित युवा पण्डित आचार्य सुदर्शन सुवेदीले भागवत वाचन गर्नुहुनेछ । पौष २५ गते शोभायात्रा भई २६ गतेबाट महायज्ञका नियमित कार्यक्रम सुरु हुने आयोजक समितिले जनाएको छ । महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost