रेडहिल पार्कमा झलुंगे पुल निर्माणको योजना अघि सर्याे

270
SwadeshPost

माडी नगरपालिकाले पर्यटकीय केन्द्रहरु छरछरेस्थित शिवालय मन्दिरबाट खैरहनीस्थित रेडहिल पार्कसम्म झलुंगे पुल निर्माणको योजना अगाडी सारेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले एक कार्यक्रममा सो योजना सार्वजनिक गर्नुभएको हो । यसअघि माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले यस योजनाबारे छलफल चलाउनुभएको थियो ।

माडी नगरपालिका वडा नं. ५ स्थित छरछरेलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयबासीहरुसंगै माडी नगरपालिका वडा नं. ५ कार्यालयले अभियान चलाइआएको छ । पछिल्ला दिनहरुमा माडी नगरपालिकाको वडा नं. ५ अन्तरगत सोमेश्वर मध्यवर्ती सामुदायिक बनको छेउमा पर्ने रातोमाटे डाँडोलाई रेडहिल पार्कका रुपमा चिनाउन स्थानीयबासीहरुसंगै वडा कार्यालयले पनि पहल बढाइरहेको छ । यस्तो परिस्थितिमा दुबै अभियानलाई एकीकृत गर्दै छरछरे धाम, हरिहर क्षेत्र र रेडहिल पार्कलाई विशेष पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने प्रयत्नस्वरुप दुबै स्थान जोड्नेगरी झोलुङ्गे पुलको योजना सार्वजनिक गरिएको छ ।

झोलुङ्गे पुल निर्माण हुनसके त्यहाँबाट सानो स्तरको बञ्जी जम्पको समेत प्रवन्ध हुनसक्ने देखिन्छ । त्यसैगरी सो पुल पछिल्लो सेल्फी पुस्तासंगै बयोबृद्ध पुस्ताको लागि माडी उपत्यकाको एकमात्र झोलुङ्गे पुलका रुपमा आकर्षणको केन्द्र बन्ने विश्वास गर्न सकिन्छ ।

SwadeshPost