माडी मा.वि. काे ४९ औं बर्षिकोत्सव सम्पन्न

747
SwadeshPost

माडी माध्यमिक विद्यालयको ४९ औं बर्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिका रुपमा नगर शिक्षा प्रमुख तथा उपसचिव बद्रीनारायण शर्मा र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न अनुरोध गर्दै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलले विद्यालयको वर्तमान अवस्था र आगामी कार्ययोजना सार्वजनिक गर्नुभृएको थियो । कार्ययोजनामा माडी माडी माध्यमिक विद्यालयमा बिज्ञान, शिक्षा र व्यवस्थापन संकायतर्फ उच्च माध्यमिक तह सञ्चालन गर्ने र नमुना विद्यालय बनाउने विभिन्न योजनाहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका विभिन्न शैक्षिक तथा विज्ञान सामग्रीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा भूतपूर्व विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो भने विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

२०२८ सालमा स्थापित माडी माध्यमिक विद्यालय माडीकै ज्येष्ठतम् मध्येको विद्यालय हुनुका साथै माडीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको शैक्षिक संस्था हो । हाल प्राविधिक धारतर्फ पशुविज्ञान बिषयको पठन पाठन समेत भइरहेको सो विद्यालयले आउँदो बर्ष स्वर्ण जयन्ती मनाउने तयारी समेत सुरु गरिसकेको छ ।

SwadeshPost