माडीका दुईवटा सहकारीमा चोरीको प्रयास

644
SwadeshPost

पश्चिमी माडीका दुईवटा सहकारी संस्थाहरुमा बिहीबार राती चोरीको प्रयास भएको छ । माडी नगरपालिका वडा नं. १, बरुवास्थित सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नं. २, भैरवपुरस्थित कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा गएराती चोरीको प्रयास भएको हो ।

कृषक उपकार साकोसको मुलगेट र मुलढोकाको चाबी फुटाली चोर(हरु?) मुल भवनभित्र प्रवेश गरी काउण्टरका घर्राहरुको चाबी उप्काएर पैसा चोर्ने प्रयास गरेको हो । घर्राहरुमा कागजात मात्रै रहेको देखेसंगै भल्ट पनि भनिने सेफ फुटाल्ने प्रयास गरेको र नसकेर छोडेको सो सहकारीका व्यवस्थापक चुडामणी पैनीले स्वदेश एफ.एम.लाई जनाउनुभयो । राती नै चोर (हरु?) बरुवास्थित गर्दी सामुदायिक पुस्तकालयमा रहेको सहनशीला महिला बचत तथा ऋण सहकारी संस्थाको ढोका फुटाली भित्र रहेका सामान चोर्ने प्रयास गरेको थियो । तर कार्यालयमा कागजातबाहेक पैसा र अन्य सामान नरारिखएकोले चोरी लैजान भने असफल भएको देखिन्छ ।

यसअघि, गत कार्तिक १० गते राती भैरवपुरस्थित कृषक उपकार सहकारीमा नगद र ल्यापटप लगायतका सामान चोरी भएको थियो । अघिल्लो चोरीको घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन । सो घटनालगत्तै पालेलाई बर्खास्त गरिएकोमा नयाँ नियुक्तिको प्रक्रिया पुरा भइनसकेको सहकारीले जनाएको छ । सहनशीला महिला सहकारीमा समेत यसअघि ल्यापटप सहित नगद चोरी भइसकेको छ । दुईवटै सहकारीमा सुरक्षाका निम्ति सि.सि.टि.भी. क्यामेरा जडान कार्य भने भएको छैन ।

SwadeshPost