छैठौं खिचरा महोत्सवको तयारी तीब्र

295
SwadeshPost

हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र पारिएको छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली गौचरनमा हुन लागेको महोत्सव यसवर्ष पुुस २८ देखि माघ ७ गतेसम्म हुने आयोजकले जानकारी दिएका छन् । महोत्सव सफल बनाउनका लागि थाकस चितवन क्षेत्र नं. ७ का सभापति चुडामणि चौधरीको संयोजकत्वमा १५१ मूल आयोजक समिति तथा ३० वटा कार्यगत समिति गठन गरिएको छ ।

यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने जनाइएको छ । अहिले थारु गाउँटोलमा परम्परागत थारु घरहरु लोप हुन लागेको अवस्थामा महोत्सव परिसरमा थारुगाउँकै झल्को दिने खालका केहि घरहरुका साथै थारु समुदायका बासिन्दाले विशेष अवसरमा पुजापाठ गरिने बरमथान निर्माण गरी थारु धर्मसँस्कृति बारे जानकारी दिने उद्देश्यले मिनिथारु गाउँ परिसर बनाउन लागेको जनाइएको छ । उक्त परिसरमा परम्परागत थारु गाउँघरमा पाइने सम्पूर्ण वातावरण रहनेछ ।

चिचर र घोंघी लगायतका थारु खानाका परिकारहरुका लागि प्रचलित बन्दै गैरहेको खिचरा महोत्सवमा यसैवर्षदेखि चेपाङ, दराई लगायत अन्य आदिवासी तथा जनजातिहरुका परम्परागत खानाका परिकारहरुका स्टल पनि रहने आयोजकले जनाएका छन् ।

SwadeshPost