कुसुमखोला स्वास्थ्य क्लिनिकको जिम्मेवारी माडी नगरपालिकालाइ

220
SwadeshPost

कुसुमखोलास्थित सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनको जिम्मेवारी माडी नगरपालिकाले लिएको छ । अति विपन्न तथा सिमान्तकृत चेपाङ, तामाङ र भुजेलसंगै दलित समुदायको बसोबास रहेको कुसुमखोलामा खोप तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउन तात्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय चितवन, सामरी उत्थान सेवा र फेल्म नेपालको सहकार्यमा २०७० असार २१ गते सो क्लिनिकको स्थापना भएको थियो । त्यसपश्चात २०७४ फाल्गुन १४ देखि माडी नगरपालिका र सामरी उत्थानले सञ्चालन गरिरहेको सो क्लिनिक अाज आइतबारदेखि माडी नगरपालिकाले स्वामित्व ग्रहण गरी सञ्चालन गर्न लागेको हो । क्लिनिकबाट कुसुमखोला निवासीहरुले आधारभूत स्वास्थ्य सेवा लिने गरेका छन् ।

यससम्बन्धी सम्झौतापत्रमा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल र सामरी उत्थान सेवाकी कार्यकारी निर्देशक विमलादेवी गायक बीच अाइतबार सम्झौता भएको छ । माडी नगरपालिका वडा नं. ९ मा रहेको कुसुमखोलामा आज आयोजित सामुदायिक स्वास्थ्य क्लिनिक हस्तान्तरण कार्यक्रममा सो क्लिनिकको स्वामित्व तथा संचालनको जिम्मेवारी माडी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा माडी नगरपालिकाको तर्फबाट नगर प्रमुख ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, निमित्त प्रमुख प्रशासकिय अधिकृत रविशंकर शाह, वडा नं आठका वडाअध्यक्ष कृष्णराज अधिकारी लगायतको उपस्थिती रहेको थियो भने सामरी उत्थान सेवाको तर्फबाट कार्यकारी निर्देशक गायक, फिल्ड स्टाफ नवराज अधिकारी र फेल्म नेपालकी क्षेत्रीय संयोजक टेरेसा लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost