माडीमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजित

318
SwadeshPost

नेपालीहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा माडीको बरुवा बजारमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । माडी नगरपालिका वडा नं १ र २ को संयुक्त भेट्रान टिमद्वारा आयोजना गरिएको सो प्रतियोगिताका खेलहरु आउँदो माघ १ गतेबाट स्टार खेल मैदान, बरुवामा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ५५ हजार तथा दोश्रो हुने टिमलाई नगद रु. ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क रु ५,५०० रहेको सो प्रतियोगितामा सहभागिता जनाउन पौष २८ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने समयसीमा तोकिएको छ । थारु समुदायले नयाँ बर्षका रुपमा मनाउने माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा गतबर्ष स्टार स्पोर्टस् क्लब, बरुवाले प्रथम जिल्लास्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

यसैबिच, थारु समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तिब्र पारिएको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा हुन लागेको महोत्सवको तयारी तीब्र पारिएको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ७ खैरहनीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

SwadeshPost