इन्द्रबस्तीका फणिन्द्रराज पुरी, तरकारी खेती गरी उदाहरणीय बन्दै

607
SwadeshPost

व्यवसायिक रुपमा कृषि पेशा अंगाले वैदेशिक रोजगारीको भन्दा राम्रो कमाई गर्न सकिने उदाहरण माडी इन्द्रबस्तीका फणिन्द्रराज पुरीले देखाउनुभएको छ । पुरीले गाउँघरमै व्यवसायिक तरकारी खेती र बाख्रापालन गरी मनग्य आम्दानी गरिरहनुभएको हो । उहाँले माडी नगरपालिका वडा नं. ८, इन्द्रबस्तीमा पुरी तरकारी तथा बाख्रा फर्म स्थापना गरी स्वदेशमै राम्रो आम्दानी गरिरहनुभएको हो ।

२०६९ सालमा जिल्ला पशु विकास कार्यालय, भरतपुरबाट प्राप्त ३० हजार अनुदान रकमबाट ४ वटा बाख्रा खरिद गरी पुरीले बाख्रापालन व्यवसाय सुरुवात गर्नुभएको थियो । त्यसको २ वर्षमै ६० वटा पु¥याउन सफल भएको पुरीले बताउनुभयो । चाडपर्वको समयमा स्थानीय बजारमै बिक्री हुने खसी र पाठा अन्य समयमा भने भरतपुरमा बिक्री हुने गरेको र त्यसबाट राम्रो मुनाफा हुने गरेको उहाँको भनाई छ ।

बाख्रापालनसंगै पुरीले २०७२ सालबाट व्यवसायिक तरकारी खेती समेत सुरुवात गर्नुभयो । सुरुवातमा १ कठ्ठा जमिनबाट मौसमी तथा बेमौसमी करेला, लौका, घिँरौला, खुसार्नी, बन्दा, टमाटर लगायतका बिरुवाहरुको खेती गरी उहाँले तरकारी खेती सुरुवात गर्नुभएको हो । हाल करीब ५ कठ्ठा क्षेत्रफलमा ग्रिनहाउस सहित उहाँको तरकारी फर्म फैलिएको छ । गाउँघरमै व्यवसायिक तवरबाट धैर्यता र निरन्तरतासहित काम गर्न सके विदेश जानै नपर्नेे सबैलाई उहाँको सन्देश रहने गरेको छ ।

SwadeshPost