कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लि. को पाँचौ वार्षिक साधारणसभा सम्पन्न

309
SwadeshPost

पूर्वी माडीको टम्टास्थित कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष पिपला भण्डारीको अध्यक्षता तथा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदी र नेपाल कम्युनिष्ट पार्टी, माडीका नेता नारदमणी पौडेल विशिष्ट अतिथिका रुपमा सहभागी रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले दुग्ध उत्पादन बृद्धिको लागि १५ वटा गाई अनुदानमा दिने र गाईको नश्ल सुधार तथा बीमा समेत गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै नगरप्रमुख ढकालले सो सहकारीको भवन निर्माणमा पनि सघाउने जनाउनुभएको थियो । कार्यक्रममा निरन्तर दुग्ध संकलन गर्नुहुने गोविन्दबस्तीका भीम बहादुर दुरा, सर्बाधिक दुध संकलन गर्ने माडी प्रगतिनगरका दुर्गा बहादुर अधिकारी र नियमित तथा सर्वाधिक बचत गर्ने कृष्णनगर निवासी नर बहादुर रानाभाटलाई सम्मान समेत गरिएको थियो । सहकारीको कार्यालय परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा माडीका विभिन्न संघ संस्था, विद्यालय र सहकारीका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्थाले पूर्वी माडीको कृष्णनगरमा दुग्ध संकलन केन्द्र एवं चिस्यान केन्द्र स्थापना गरी दुग्ध उत्पादन र वितरणको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

SwadeshPost