माडी क्याम्पसद्दारा कक्षा ९ र १० सञ्चालन गर्न नगरपालिका समक्ष अनुमती माग

285
SwadeshPost

माडी क्याम्पसले माध्यमिक तह अर्थात कक्षा ९ र १० समेत सञ्चालन गर्न माडी नगरपालिका समक्ष अनुमती माग गरेको छ । क्याम्पसले २०७५ पौष २७को मिति भएको निवेदन २०७५ माघ ४ गते माडी नगरपालिकामा दर्ता गरी कक्षा ९ र १० समेत सञ्चालनको अनुमती माग गरेको हो ।

स्नातक तहसंगै उच्च माध्यमिक तह अर्थात कक्षा ११ र १२ सञ्चालन गर्दै आएको सो क्याम्पसले राष्ट्रिय शिक्षा नीति अनुरुप उच्च माध्यमिक तह सञ्चालन गर्न माध्यमिक तह चलाउनैपर्ने अन्यथा कक्षा ११ र १२ चलाउन नपाउने भएसंगै माध्यमिक तह सञ्चालनको प्रक्रिया अगाडी बढाएको हो । यद्यपि यो काम छिमेकमा रहेका सामुदायिक विद्यालयहरुको सहमतीमा मात्रै अगाडि बढाइने क्याम्पस प्रमुख नेत्र प्रसाद गौतमको भनाइए छ ।

हाल विद्यार्थीहरुबाट संकलित हुने शुल्कको ठूलो हिस्सा उच्च माध्यमिक तहबाट आउने गरिरहेको अवस्थामा सो तह हटाउने वा छोडेने पक्षमा माडी क्याम्पस देखिँदैन । त्यसैले नयाँ शिक्षा नीति अनुरुप माध्यमिक तह चलाउनैपर्ने बाध्यात्मक अवस्थामा क्याम्पस सञ्चालक समितिको २०७४ असार १६ को निर्णय अनुसार माडी नगरपालिकामा आवेदन गरिएको भएपनि यसबारे थप छलफलका लागि भोलि बिहीबार बिहान ७ः३० बजे बैठक आह्वान गरिएको क्याम्पसले जनाएको छ ।

यता, माडी नगरपालिका वडा नं. ३ कार्यालयले भने क्याम्पसले नगरपालिकामा दर्ता गरेको आवेदनमा नत्थी गरिएको माइनोटमा शंका उत्पन्न भएको जनाएको छ । माडी माध्यमिक विद्यालय, बसन्तपुरलाई छायाँमा पार्नेगरी माडी क्याम्पस अगाडी बढेको भन्दै वडा कायालयले त्यसप्रति असन्तुष्टि व्यक्त गरेको हो । वडाध्यक्ष पुरन महतोले क्याम्पस सञ्चालक समितिको बैठकमा माध्यमिक तह चलाउने बिषयमा यसअघि छलफल भएको आफूलाई थाहा नभएको जनाउनुभयो ।

हाल माडी क्याम्पसले स्नातकोत्तर तहको सञ्चालनका निम्ति भर्नाको सुचना जारी गरी भर्ना प्रक्रिया थालेको छ भने माडी माध्यमिक विद्यालयले बिज्ञान लगायतका बिषयमा उच्च माध्यमिक तह सञ्चालनको प्रक्रिया अगाडि बढाइरहेको छ ।

SwadeshPost