स्वर्गीय पौडेललाई नेकपा माडी नगर कार्यालय समितिद्वारा श्रद्धाञ्जली व्यक्त

234
SwadeshPost

आइतबार दाहसंस्कार गरिनुभएका माडीका सामाजिक अगुवा एवं पूर्व जनप्रतिनिधी भुवानी प्रसाद पौडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालय समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ । दाहसंस्कारको सन्दर्भमा आयोजित कार्यक्रमका सन्दर्भमा श्रद्धाञ्जली अर्पण गरिएको हो । त्यसैगरी बिप्लब नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयले समेत सो पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको श्रद्धेय पिता रहनुभएका दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । दुबै वक्तव्यमा अन्याय उत्पीडन बिरुद्धको आन्दोलनमा पौडेलले सक्रियतापूर्वक जीवन समर्पण गर्नुभएको व्यक्तित्वका रुपमा चित्रित गर्दै उहाँले देखाउनुभएको न्याय र समानताको बाटोमा अगाडी बढ्न सबैमा अनुरोध गरिएको छ ।

त्यसैगरी स्वर्गिय पौडेलको निधनमा माडी क्याम्पसले शोक व्यक्त गरेको छ । क्याम्पसका अध्यक्ष तीर्थराज भुसाल र क्याम्पस प्रमुख नेत्र प्रसाद गौतमले संयुक्त हस्ताक्षरित शोक वक्तव्य जारी गरी शोक व्यक्त गर्नुभएको हो । त्यस्तै, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाका तर्फबाट अध्यक्ष ओमनाथ पाण्डे र प्रधानाध्यापक ऋषिराम काफ्लेद्वारा संयुक्त हस्ताक्षरित शोक वक्तव्य जारी गरिएको छ । उता, महोत्तरीस्थित आधारशीला परिवारले समेत उहाँप्रति शोक व्यक्त गरेको छ । आधारशीला परिवारका तर्फबाट शिव फुँयाल र माधव कोइरालाले शोक वक्तव्य जारी गर्नुभएको हो । त्यसैगरी माडी नगरपालिका, पिसल्याण्ड इङ्गलिस स्कूल र स्वदेश एफ.एम.ले समेत छुट्टा छुट्टै वक्तव्य जारी गरी स्वर्गिय पौडेलप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

SwadeshPost