माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै

301
SwadeshPost

माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको हो । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ ।

उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्क अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । राष्ट्रिय समाचार समितिसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले दूध उत्पादनका आधारमा ६ महीनामा रु १९ लाख अनुदान वितरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । जारी आर्थिक वर्षमा नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्न दुई करोड २८ लाख विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ रु आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट रु दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिनुभयो । हाल माडीमा करीब २०० व्यावसायिक पशुपालक किसानहरुबाट दैनिक १० हजार लिटर दूध उत्पादन हुनेगरेको तथ्यांक छ ।

SwadeshPost