मानव बन्यजन्तु द्वन्दका कारण असहाय भएका बालबालिकाहरुको लागि छात्रवृत्ति वितरित

131
SwadeshPost

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सेवाक्षेत्रमा मानव बन्यजन्तु द्वन्दका कारण असहाय भएका बालबालिकाहरुको शिक्षाका लागि छात्रवृत्ति वितरण गरिएको छ ।

बरुवा बजारस्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा एक संक्षिप्त कार्यक्रमबिच समितिका अध्यक्ष नारायणदत्त सापकोटाले १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैबिक विविधता संरक्षण केन्द्र सौराहा र सो समितिद्वारा संयुक्त रुपमा स्थापित करीब १२ लाख ६४ हजार रुपैंयाको अक्षयकोषको ब्याजबाट अर्धबार्षिक रुपमा छात्रवृत्ति वितरण गर्ने क्रमको सुरुवातस्वरुप पहिलोपटक छात्रबृत्ति गरिएको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा अध्यक्ष सापकोटासंगै समितिका सदस्य बिष्णु ढकाल र रामचन्द्र महतोको विशेष उपस्थिति रहेको थियो । जंगली जनावरको आक्रमणबाट अभिभावक गुमाएका बालबालिकाहरुलाई अर्कोपटक ६ महिनापछि पुनः छात्रवृत्ति वितरण गरिने समितिका अध्यक्ष सापकोटाले जनाउनुभयो ।

यसैबिच, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जबिच संरक्षण शिक्षामुलक रेडियो सामग्री प्रशारण कार्यक्रम सम्झौता भएको छ । जैविक विविधताको संरक्षण, दुर्लभ बन्यजन्तुको चोरी शिकार नियन्त्रण र मानव तथा बन्यजन्तुहरुबिच समझदारी कायम गर्न सघाउन विभिन्न संरक्षणमुखी सुचना र सन्देश प्रशारणका लागि कार्यक्रम सम्झौता गरिएको हो ।

SwadeshPost