वन मन्त्रालयद्वारा भरतपुर माडी ठोरी खण्डको हुलाकी सडकको इ.आई.ए. अध्ययन प्रतिवेदन स्वीकृत

562
SwadeshPost

भरतपुर माडी ठोरी खण्डको हुलाकी सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले तयार पारेको वातावरणीय प्रभाव मुल्यांकन (इ.आई.ए.) अध्ययन वन मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रीस्तरको निर्णयबाट वन मन्त्रालयले इ.आई.ए. स्वीकृत गरेसंगै अब माडी ठोरी क्षेत्रको सडक निर्माणका सम्पूर्ण कामहरु बिना अवरोध अगाडि बढ्न सक्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ भदौ १९ गते बन मन्त्रालयमा पेश गरेको भरतपुर माडी ठोरी हुलाकी सडक खण्डको इ.आई.ए. प्रतिवेदन वन मन्त्रालयले गत माघ २२ गते स्वीकृत गरेको हो । वन मन्त्रालयले सडक विभाग र वातावरण विभागलाई चलानी नं. ७९२ बाट बोधार्थ लेख्दै इ.आई.ए. अध्ययन प्रतिवेदन स्वीकृत गरेसंगै भरतपुर माडी ठोरी क्षेत्रमा उच्चस्तरको कालोपत्रे बाटो बनाउने सम्पूर्ण अवरोधहरु हटेका हुन । यद्यपि, कतिपय खोलामा निर्माण गर्नुपर्ने पुलहरुको भने छुट्टै इ.आई.ए. गर्नुपर्ने हुनसक्ने जनाइएको छ ।

वन मन्त्रालयले इ.आई.ए. अध्ययन प्रतिवेदन स्वीकृत गर्दैगर्दा प्रस्तावित आयोजनाले विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जमा युनेश्कोको राय सुझाव र स्वीकृति लिनुपर्ने सर्त भने कायमै राखेको छ । त्यसैगरी रातको समयमा जंगलभित्र काम गर्न नपाइने, कामदारहरुको शिविर निकुञ्जबाहिर राख्नुपर्ने, योजना कार्यान्वयमा रहँदा ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने, योजनाबाट उत्पादित फोहोरहरु खोला नदी प्रदूषित हुनेगरी डिस्पोज गर्न नपाइने लगायतका सर्तहरु राखिएका छन् ।

यसअघि, वातावरणीय प्रभाव मुल्यांकन अध्ययन नभएको भन्दै भरतपुर माडी ठोरी हुलाकी सडक खण्डकाे ठेक्का पाएको आशिष निर्माण सेवा तथा माडी नगरपालिकालाई सडक निर्माणजन्य काम गर्न अवरोध रहँदै आएको थियो ।

SwadeshPost