राष्ट्रिय निकुञ्ज ऐन-२०२९ र मध्यवर्ती क्षेत्रको अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

216
SwadeshPost

माडी सहित मध्यवर्ती क्षेत्रको उत्पीडन विरुद्धको अभियानको आयोजनामा राष्ट्रिय निकुञ्ज ऐन-२०२९ र मध्यवर्ती क्षेत्रको अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न सर्बोच्च अदालतबाट परमादेश आएपछि सोको विरोधमा जारी चरणबद्ध दबावमुलक कार्यक्रमहरु अन्तरगत सो अन्तरक्रियात्मक छलफल गरिएको हो । अभियानका संयोजक मिलनदीप पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डि.आर. पौडेलसंगै माडी नगरपालिकाका वडाध्यक्षहरु, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधी र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री डि.आर. पौडेलले युवाहरुको अभियानलाई राजनैतिक अभियान र नेतृत्वसंग जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेकपा नेता प्रचण्डलाई माडीबासीको सुखदुःखमा सहभागी हुने वातावरण बनाउनुपर्ने तथा नेता प्रचण्ड र माडीबासीहरुबिच दरार पैदा गर्न भइरहेका प्रयासहरु रोक्नुपर्ने उहाँको भनाई थियो । त्यसैगरी नेकपाका अर्का नेता तीर्थराज भुसालले अभियानलाई केन्द्रीय वा राष्ट्रिय बिषय बनाउन जरुरी रहेको बिचार व्यक्त गर्नुभयो । अर्का वक्ता तथा विकास अभियन्ता तारा पौडेलले अभियन्ताहरुमा धैर्यता हुनुपर्ने बिचार व्यक्त गर्दै सो अभियानमा आवद्ध हुन सम्पूर्ण युवाहरुलाई आह्वान गर्नुभएको थियो ।

SwadeshPost