३ नं. प्रदेश सरकारद्वारा माडी क्षेत्रमा करीब १० करोडका योजनाहरु चालु

414
SwadeshPost

३ नं. प्रदेश सरकारले जारी आर्थिक बर्षमा माडी उपत्यकाभित्र नदी नियन्त्रणलाई प्राथमिकता दिँदै करीब १० करोड रुपैंयाका विभिन्न योजनाहरु अगाडि बढाएको छ ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै प्रादेशिक सांसद रामलाल महतोले जारी आर्थिक बर्ष २०७५/७६ मा कार्यान्वयन हुनेगरी माडी नगरपालिका वडा नं. ८ र ९ मा घाँघर खोला तटबन्धनका लागि ७४ लाख, माडी–८ मै पतरे खोला नियन्त्रणमा ४९ लाख र माडी ९ मा बगहीँ खोला तटबन्धनका लागि पनि ४९ लाख विनियोजित रहेको जानकारी दिनुभयो । त्यसैगरी मगोई खोला नियन्त्रणमा १ करोड ५० लाख, माडी ६ मा पत्रे खोला तटबन्धनमा ५० लाख र माडीका माछापालक किसानहरुलाई पोखरी निर्माणको अनुदानस्वरुप करीब १ करोड रुपैंया विनियोजन भएको जनाउनुभयो ।

त्यस्तै, प्रदेश सरकारले माडी नगरपालिका वडा नं. ८ स्थित विद्यालयमा खानेपानीका लागि रु १० लाख, दक्षिण अयोध्यापुरीमा खानेपानीको लागि ३० लाख, माडी क्याम्पसमा शौचालय निर्माणका लागि २५ लाख र माडीमा कभर्ड हल निर्माणका लागि ५० लाख रकम समेत विनियोजित गरको छ । घाँघर सिंचाई आयोजनाका लागि १ करोड १४ लाख र जनकल्याण माध्यमिक विद्यालयको सभाहल निर्माणका लागि २० लाख विनियोजित भएको छ भने पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत लक्ष्मीनिवासस्थित पुष्पलाल मदन भण्डारी पुष्प बाटिका निर्माणका लागि १ करोड र शनि मन्दिरका लागि १० लाख रुपैंया समेत स्वीकृत भएको जनाइएको छ । बजेट विनियोजनमा रहेका योजना तथा कार्यान्वयहरुको सम्झौता तथा कार्यान्वयन प्रक्रिया जारी रहेको हो ।

– स्वदेश न्यूज डेस्क । १५ फागुन, २०७५

SwadeshPost