मेयर कप फुटबलको फाइनलमा भोलि माडी-८ र सि.एफ.सी. भिँड्ने

640
SwadeshPost

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि भोलि फागुन १७ गते माडी नगरपालिका वडा नं. ८ को फुटबल टोली र चैनपुर फुटबल क्लब (सि.एफ.सी.) भिँड्ने भएका छन् ।

समूह चरणका खेलहरु जित्दै फाइनलमा पुगेका सो टोलीहरु भोलि दिउँसो १ बजेपछि बरुवा बजारस्थित खेल मैदानमा फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । चैनपुर फुटबल क्लब (सि.एफ.सी.)ले स्टार स्पोर्टस् क्लब, बरुवालाई पराजित गरी फाइनल प्रवेश गरेको हो भने माडी नगरपालिका वडा नं. ८ ले गौरीशंकर युवा क्लबलाई पाखा लगाई फाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमीफाइनलमा पराजित स्टार स्पोर्टस् र गौरीशंकरले सान्त्वाना पुरस्कारस्वरुप १०/१० हजार रुपैंयामै चित्त बुझाउनु पर्ने भएको छ ।

भोलिको फाइनल खेलपश्चात उपाधीको विजेता र उपविजेतासंगै सर्बोत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, बेष्ट मिडफिल्ड, बेष्ट डिफेन्स, बेष्ट गोलकिपर, अनुशासित टीम आदिजस्ता बिधागत उपाधी विजेताहरुको समेत टुंगो लाग्ने आयोजकले जनाएको छ । युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. २ को आयोजनामा सञ्चालित सो खेलका विजेता र उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्रका साथ क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ प्राप्त गर्नेछन् । त्यसैगरी विजेता टोलीले तेश्रो संस्करणको मेयर कप सञ्चालनको अधिकार समेत प्राप्त गर्नेछ ।

SwadeshPost