डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी १ वडा कार्यालय असन्तुष्ट

452
SwadeshPost

माडीको डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी नगरपालिका वडा नं. १ कार्यालयले असन्तुष्टि जनाएपछि काम सच्याउन ठेकदार पक्ष तयार भएको छ ।

पुलभन्दा उपल्लो तटीय र तल्लो तटीय किनारामा लगाइने तटबन्धनयुक्त पंखा अर्थात रिटेनिङ वालको लम्बाई नपुगेको र पुलमाथिको ढलानबाहिर रड देखिएकोले निर्माणकार्य गुणस्तरीय हुन नसकेको भन्दै वडा नं. १ कार्यालयले सडक विभागलाई पत्राचार गरेको थियो । पत्र पाएसंगै विभागले ठेकदार पक्षलाई त्यसबारे ताकेता गरेकाले ठेकदार पक्षले रिटेनिङ वाल लम्ब्याउन र रड देखिएको ठाउँमा गन मेसिनको प्रयोग गरी पुनः ढलान गर्न तयार भएको वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । ठकेदार पक्षले सुरुवातमा पुलको उपल्लो भागको खोला किनारमा ३० मिटर र तल्लो भागमा २० मिटर मात्रै रिटेनिङ वाल लगाइएकोमा अब उपल्लो क्षेत्रमा ६५ मिटर र तल्लो क्षेत्रमा ४५ मिटर तटबन्धन गर्नेछ ।

पश्चिमी माडीको गर्दी गाउँसंग चैनपुर, सिकारीपुर, कल्याणपुर लगायतका गाउँहरु जोड्ने मुख्य भित्री पुलका रुपमा गत साउनदेखि डाङ्ग्रे खोला पुल निर्माण सुरुवात भएको हो । पुलको लम्बाई २५ मिटर रहेको छ । नेपाल सरकारको २ करोड ५० लाख लागत सहयोगमा निर्माण जारी सो पुलको ठेक्का लोहनी ब्रदर्श एण्ड सन्स जे.भी.ले पाएको हो ।

SwadeshPost