फेरिपनि जीवन त उस्तै छ… कथा उनको, जसको कुनै नामै छैन

224
SwadeshPost

शारीरिक रुपमा अशक्त हुनुहुन्छ, मुखबाट आवाज निस्कँदैन । श्रीमानको धेरै पहिले नै देहान्त भइसक्यो, भएका दुईवटै बच्चाहरु काठमाडौंतिर भाँडा माझ्छन् रे । घरमा एक्लै हुनुहुन्छ र गाउँघरमा मागेर हातमुख जोर्नुहुन्छ । नाम के हो, कसैलाई थाहा छैन, गाउँलेले ‘काली’को संज्ञा दिएका छन् । नागरिकताको प्रमाणपत्र बनेको छैन, त्यसैले सरकारी भत्ता पनि पाउनुभएको छैन, दुखजिलो जीवन छ ।

माडी नगरपालिका वडा नं. ५, बनटोली निवासी एकजना एकल महिलाको जीवन यस्तै यस्तै छ, साहारा कोही छैन । त्यसमाथि उहाँ बस्दै आउनुभएको एउटा जीर्ण घरपनि सडक बिस्तारका क्रममा बाटोमा परेसंगै जीवनको उत्तरार्धमा उहाँ बेघर हुनुपर्ने अवस्था आयो । किन्तु, बेघर हुन भने दिएन, माडी नगरपालिका ५ वडा कार्यालयले । वडाध्यक्ष रामबन्धु पोखरेलको पहलमा बाटो छेउमा जेसिबी लगाई अलिकति खोरिया सम्याएर खनजोत गर्ने बारी बनाइयो र करीब ३० हजारको लगानीमा सानो कच्चीघर पनि खडा भयो । त्यसैले, अलिकति भएपनि मुस्कुराउने बहाना मिलेको छ, उहाँलाई अहिले ।

फेरिपनि, जीवन त उस्तै छ उहाँको । रेडियोमा बिष्णु माझी र वीमाकुमारी दुराका बिरह बोल्ने लोकगीतहरु सुन्दा, आफ्नै जीवनको गीत झैं लागेर उहाँलाई अजहज । त्यसलाई शव्दमा उतार्न हामीलाई पनि अहसज ।

(१०९अाैं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित स्वदेश फिचर न्यूज । २४ फागुन २०७५)

SwadeshPost