पुष्पलाल कलेज काठमाडौंका विद्यार्थीहरुद्वारा माडीको सामाजिक अवस्थाबारे सर्भेक्षण

540
SwadeshPost

पुष्पलाल मेमोरियल कलेज चावहिल काठमाडौंमा मानविकी संकाय अन्तरगत सामाजिक सेवा र पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुले माडीको सामाजिक अवस्थाबारे सर्भेक्षण सुरुवात गरेका छन् ।

आज बिहान अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, शिवद्वारमा अनुशिक्षण गरिएसंगै विद्यार्थीहरुले सर्भेक्षण सुरु गरेका हुन । अनुशिक्षण कार्यक्रममा जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम, माडीका युवा पण्डित सुदर्शन सुवेदी र माडीका अग्रणी सञ्चारकर्मी देव अञ्जान शाहले विद्यार्थीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।

प्रश्नावली बिधीमार्फत माडीको सामाजिक अवस्था, सामुदायिक अन्तरघुलन, सामाजिक विकासमा सरकारी तथा गैरसरकारी निकायहरुको प्रभाव र माडीका आमसञ्चार माध्यमहरुको प्रभावकारिता लगायतका बिषयमा सर्भेक्षण थालिएको हो । पुष्पलाल मेमोरियल कलेजमा स्नातक तहमा अध्ययनरत २० जना विद्यार्थीहरुले तथ्यांक संकलन सुरुवात गरेको र केहि दिनभित्रै त्यसको प्रतिवेदन प्रकाशित गरिने सर्भेक्षणका सहजकर्ता साबित्री पुरीले जानकारी दिनुभयो ।

यसैबिच, सर्भेक्षणमा सहभागी विद्यार्थीहरुकै आयोजनामा भोलि आइतबार जनचेतनामुलक साँस्कृतिक तथा खेलकूद कार्यक्रम आयोजना गरिएको छ । जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा विहान ११ बजेदेखि सो कार्यक्रम हुने जनाइएको छ ।

SwadeshPost