जन्तीबस दुर्घटनाका अधिकांश घाइतेहरु डिस्चार्ज, एकजनाको उपचार जारी

296
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र भएको जन्तीबस दुर्घटनामा परेका अधिकांश घाइतेहरुको डिस्चार्ज भएको छ । हिँजो भरतपुर अस्पतालको आकस्मिक कक्षमा राखी उपचार भएका घाइतेहरुमध्ये पुजा महतो बाहेक अन्य घाइतेहरुलाई आज साँझपख डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुन बाँकी रहनुभएकी पुजा महतोको भने वार्डमा राखी उपचार भइरहेको छ । उहाँको घाँटीमा चोट देखिएपनि आज धेरै सुधार भएको परिवारश्रोतले जनाएको छ ।

हिँजो भर्ना गरिएका अधिकांश घाइतेहरुको डिस्चार्ज गरिएपनि आज थप केहिलाई स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । दुर्घटनामा परेर सामान्य चोटपटक लागेकाहरुलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको घाइते परिवार सदस्य प्रभु महतोले जानकारी दिनुभयो । दुर्घटनापश्चात बस चालक सम्पर्क विहीन रहेपनि बसधनी भने अस्पतालमै पुगी घाइते परिवारसंग सम्पर्कमा रहनुभएको परिवार सदस्य महतोको भनाई छ । गत शनिवार पूर्वी चितवनबाट जन्ती लिएर माडीको चिरौली फर्किदै गरेको ना.७ ख. २२८ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा पर्नुभएका माडी चिरौलीका ३० बर्षीय मिथुन महतोको भने उपचारका क्रममा हिँजो साँझनै मृत्यु भइसकेको छ ।

यसैबिच, जन्तीबस दुर्घटनामा परी निधन हुनुभएका माडी नगरपालिका वडा नं. २, चिरौलीका महतोको परिवार शोकमा डुबेको छ । दिवंगत महतोको शव भरतपुर अस्पतालमा रहेको शवगृहमा राखिएको छ र पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइने छ । बस दुर्घटना हुँदा उहाँको कम्मरको भाग र त्यहाँका भित्री अंगहरुमा गम्भीर चोट लागेको थियो । जन्तीबस दुर्घटनामा परेसंगै विवाहको खुसीयाली मनाइरहेका दुइवटै परिवारसंगै आफन्त, छरछिमेकी र जन्तीहरुमा शोक छाएको छ ।

SwadeshPost