खरिकुनाकी लालुमायाको घर र गोठमा आगलागी, करीब ४ लाखको क्षती

205
SwadeshPost

खरिकुना गाउँस्थित लालुमाया तामाङको घर र गोठमा आगलागी हुँदा करीब ४ लाख रुपैंयाको क्षती भएको छ । तामाङको घरमा आज दिउँसो करीब १ः३० बजे आगलागी सुरुवात भएकोमा २ घण्टाको प्रयासपश्चात दिउँसो ४ बजेतिर आगो नियन्त्रणमा आएको हाम्रा मध्यपूर्वी माडी सहकर्मी दुर्गा अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट तामाङको घर गोठ र त्यहाँभित्र रहेका सामान तथा पैसा समेत जलेर क्षती भएको हो । तर मानवीय तथा पशुपंक्षीजन्य हताहती भने भएको छैन

गोठमा रहेको आगोबाट आगलागी सुरु भएको स्थानीयबासीहरुले अनुमान गरेका छन् । आगलागी सुरुवात हुँदा घरमा कोहि नभएकाले आगो बढिसकेपछि मात्रै गाउँमा थाहा भएको थियो । आगलागी भएलगत्तै स्थानीय गाउँलेहरुले आगो निभाउने प्रयास गरेका थिए, तर गाउँमा पानीको अभाव रहेकाले आगो निभाउने प्रयास सफल हुन सकेको थिएन । आगलागीको सुचान पाएलगत्तै बसन्तपुर बजारस्थित माडी नगरपालिका कार्यालयमा रहेको दमकलले आगो निभाएको हो । आगो निभाउने क्रममा ट्यांकीको पानी सकिएकाले दमकलले बिचमै एकपटक पानी भर्नुपरेको थियो ।

आगलागीमा परी घरगोठ जलेसंगै माडी नगरपालिका वडा नं. ८, खरिकुनाकी लालुमाया तामाङको परिवार शोकमा डुबेको छ । बोल्न र सुन्न नसक्ने अवस्थामा रहनुभएकी उहाँको घरगोठ जलेसंगै बेघर हुनुपर्ने अवस्था सिर्जना भएको हो । घरमा ७० बर्षीय बृद्ध सदस्य समेत गरी ८ जनाको उहाँको परिवार आर्थिक रुपमा अति बिपन्न छ । त्यसमाथि भएका थोरै रुपैंयापैसा र अन्न अनाज जलेर खरानी भएसंगै तामाङ परिवार शोकमा परेको हो ।

यसैबिच, गाउँका अति बिपन्न परिवारलाई आगलागीले बेघर बनाएसंगै प्रगतिनगर समेत भनिने खरिकुना बासीहरुले सहयोग संकलन अभियान सुरु गरेका छन् । आगलागीका कारण घरगोठ जलेको र बिहान साँझ खान समेत केहि बाँकी नरहेको भन्दै स्थानीय युवाहरुले सहयोग संकलनको सुरुवात गर्दै सक्दो सहायतका लागि सार्वजनिक आह्वान गरेका हुन् ।

SwadeshPost