आगलागीमा परी घरगोठ गुमाएको तामाङ परिवारलाई भूमिदान प्राप्त

262
SwadeshPost

आगलागीमा परी घरगोठ गुमाएको माडी खरिकुना गाउँका लालुमाया तामाङ परिवारलाई भूमिदान प्राप्त भएको छ ।

तामाङ परिवारले विगत एक दशकदेखि कमाई गरिआएको जमीनमध्ये ५ कठ्ठा जमीन जग्गाधनी साहु हिमलाल अधिकारीले आगलागी पीडित परिवारकै नाउँमा पास हुनेगरी भूमिदान दिनुभएको हो । तामाङ परिवारले हाल भरतपुर निवासी अधिकारीको स्वमित्वमा रहेको करीब १ बिगाहा जमीनमा खेतपाती गर्दै जीवन गुजारा गर्दै आएको थियो । अति बिपन्न वर्गको सो परिवारलाई आगलागीले बेघर बनाएसंगै जग्गाधनी अधिकारी गाउँमै आउनुभई जमीन दानको घोषणा गर्नुभएको हो ।

यसअघि, तामाङ परिवारको घर र गोठमा आगलागी हुँदा करीब ४ लाख रुपैंयाको क्षती भएको थियो । आगलागीमा परी तामाङको घर गोठ र त्यहाँभित्र रहेका सामान तथा पैसा समेत जलेर क्षती भएको हो । बोल्न र सुन्न नसक्ने अवस्थामा रहनुभएकी लालुमाया तामाङले छोरा हिमाल तामाङको सहयोगमा ७० बर्षीय बृद्ध सदस्य समेत ८ जनाको परिवार खेती किसानी र ज्याला मजदुरी गरी पाल्दै आउनुभएको थियो ।

आगलागी भएसंगै स्थानीय बासीहरुले चामल दाल तरकारी तथा आर्थिक सहयोग गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी उपशाखा अयोध्यापुरीले त्रिपाल, कम्बल र खाना पकाउने भाँडा आदि उपलब्ध गराएको थियो ।

SwadeshPost