सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता

485
SwadeshPost

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित एक छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले चक्लाबन्दीमा आधारित सामुहिक खेतीको सुरुवात भएसंगै कामसंग सम्बन्धित सामग्री र इक्वीप्मेन्टहरु अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

आज प्रादेशिक मन्त्री र सांसद लगायतको उच्चस्तरीय अधिकारीहरुले चक्लाबन्दीमा आधारित सामुहिक खेती सञ्चालन हुन लागेको कान्तिपुर गाउँको स्थलगत अवलोकन र स्थानीयबासीहरुसंग छलफल गरेका थिए । सहकारीका अध्यक्ष इन्द्र बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभाका साँसद तथा सामाजिक विकास सभापति घनश्याम दाहाल अविनाश, प्रदेश योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटा, प्रदेश योजना आयोगका सचिव चिरञ्जीवि पौडेल, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल बराल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले सामुहिक खेतीलाई माडी नगरपालिकाको पनि सहयोग रहने आश्वासन दिनुभएको थियो ।

यसैबिच, प्रदेशस्तरीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले माडीको प्रमुख पर्यटकीय क्षेत्रहरुको स्थलगत भ्रमण गर्नुभएको छ । मन्त्री नेपालले माडीको सोमेश्वर गढी, बैकुण्ठ ताल, शिवद्वार सामुदायिक होमस्टे लगायतको क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । माडी क्षेत्रको अवलोकन भ्रमण गरेसंगै मन्त्री लामाले यहाँको पर्यटकीय क्षेत्रको थप विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारबाट थप कार्यक्रमहरु अगाडि बढाइने जनाउनुभएको हो ।

SwadeshPost