

माडीका
नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडीमा जारी एस.ई.ई. परीक्षाको अनुगमनको
बिषयलाई अतिरञ्जित गरिएको टिप्पणी गर्नुभएको छ । एस.ई.ई. अन्तरगत माडी
माध्यमिक विद्यालयमा नगरप्रमुखको गाडी हर्न बजाउँदै परीक्षा सञ्चालन
भइरहेको कक्षाकोठा नजिकै पुगेको र परीक्षा हलमा नमस्तेको अपेक्षा गरिएको
भनी सामाजिक सञ्जालमा पोष्ट भएसंगै त्यसबारे नकारात्मक टिप्पणीहरु गरिएका
थिए ।
सामाजिक सञ्जालमा गरिएको आलोचनाको सामाजिक सञ्जालबाटै
जवाफ दिँदै नगरप्रमुख ढकालले परीक्षामा सम्मिलित माडी नगरपालिका भित्रका
छात्र छात्राको मनोबल गिर्ने कुनै व्यवहार भएको महासुस भए क्षमायाचना गर्दै
गल्ती नदोर्होयाउन प्रतिवद्धता गर्नुभएको छ । आगामी दिनमा परीक्षालाई थप
व्यवस्थित गर्न एस.ई.ई. सकिएलगत्तै अन्तरक्रिया कार्यक्रम आयोजना गरिने
समेत उहाँले सार्वजनिक गर्नुभयो । स्टाटसको अन्तिम वाक्यमा भने उहाँले
अनुगमनको विषयलाई अतिरञ्जित गरिएको भन्दै आलोचकहरुलाई व्यङ्ग्यात्मक रुपमा
आभार ब्यक्त गर्नुभएको छ ।


