माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दो, उत्पादन कमी हुने चिन्ता

337
SwadeshPost

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दै गएको देखिएको छ । अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लिय दोष बढ्दै गएको हो । माडी नगरपालिकाको आयोजना, माडीका साना किसान कृषि सहकारी संस्थाहरुको सहयोग र मातृभूमि कृषि सामग्री उद्योग भरतपुरको प्राविधिक सहयोगमा माडीमा जारी माटो परीक्षण शिविरमा माडीको माटोमा बढ्दै गएको सो दोषको पहिचान भएको हो ।

विहिबार माडी क्याम्पसमा ३२० जना कृषकहरुले ल्याएको तथा शुक्रबार बरुवा बजारमा १५० कृषकहरुले ल्याएको माटो परीक्षण गर्दा बहुसंख्यक कृषकहरुको खेतमा अम्लियपना बढ्दै गएको देखिएको हो । अझै २ दिन शिविर सञ्चालन हुने र त्यसपश्चात अन्तिम रिपोर्ट प्राप्त हुने मातृभूमि कृषि सामग्री उद्योगले जनाएको छ । शिविर अन्तरगत आज शनिवार कल्याणपुरमा शिविर चलिरहेको छ भने आइतबार अयोध्यापुरी क्षेत्रमा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन हुने जनाइएको छ ।

खेतीयोग्य जमिनमा अम्लीयपन बढेसंगै कृषि उत्पादनको दर घट्दै जाने बिज्ञहरु बताउँछन् । माटोमा देखिएको अम्लीयपन हटाउन कृषि चुन प्रयोग गर्न, प्रत्येक वर्ष एकै प्रकारको बाली नलगाउन, हरियो मल र पोटासको प्रयोग बढाउन बिज्ञहरुको सुझाव रहने गरेको छ ।

SwadeshPost