हावाहुण्डरीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख, घाइतेको निःशुल्क उपचार

151
SwadeshPost

भूमरीसहितको हावा हुण्डरीबाट ज्यान गुमाउनुपरेकाहरुको परिवारलाई प्रदेश नं. २ सरकारले तात्कालीन राहतस्वरुप ३ लाख रुपैंया प्रदान गर्ने भएको छ । आज बिहान बसेको प्रदेश नं. २ को आकस्मिक मन्त्रिपरिषद्को बैठकले बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै तत्कालीन राहत र सम्पू्र्ण घाइतेहरुको निःशुल्क उपचार गरिने निर्णय गरेको हो ।

आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी र असिनापानीमा परी बारा र पर्सामा कम्तीमा ३१ जनाको दुःखद मृत्यु भएको हो भने सयौंको संख्यामा घाइते भएका छन् । बीरगंजमा मात्रै करीब ६०० जना घाइतेहरुको उपचार भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैबिच घाइतेहरुको उपचारका लागि रगत अभाव भएपछि बीरगंजमा आकस्मिक रक्तदान गरिएको छ । अस्पताललाई एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको थियो । रक्तदानमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु सहित स्थानीय युवाहरु सरिक रहेको बीरगंजबाट उद्धारमा सक्रिय साबित्री सुवेदीले जानकारी दिनुभयो । बारा र पर्साका विभिन्न गाउँहरुबाट रातभर घाइतेहरुको खोजी गरी अस्पताल ल्याउने काम गरिएको उहाँले जनाउनुभयो ।

SwadeshPost