

परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ ।
रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा
पशुपंक्षी बली नदिन अनुरोध गरेको हो । विगतमा थारु समुदायकै गुरौबाट पुजा
एवं माडीका थारु समुदायद्वारा संरक्षण गरिएको सो मन्दिरमा चैतेदशैंको
अवसरमा दुर्गाको पूजाआजा हुने गरेकोमा पछिल्ला दिनहरुमा मेला समेत लाग्ने गरेको छ ।
चितवन जिल्लाभरमा थारु समुदायको ६ वटा प्रगन्ना रहेकोमध्ये प्रगन्ना नंं १
का रुपमा रहेको माडी उपत्यकामा २२ वटा मौजा रहेका छन् । प्रत्येक
प्रगन्नामा एकएकवटा देवीको मन्दिर र प्रत्येक मौजामा एकएकवटा ब्रह्मथान
रहेको थारु समुदायको प्रगन्ना नं. १ का प्रमुख केवल प्रसाद चौधरी
बताउनुहुन्छ । यी देवीका मन्दिरहरु मध्ये प्रगन्ना नं. १ को देवी मन्दिरका
रुपमा सोमेश्वर रहेको र सो मन्दिरमा पूजाआजा गरेपश्चात सम्पूर्ण
ब्रह्मथानहरुमा पूजा गर्ने थारु समुदायको प्रचलन रहेको चौधरीको भनाई छ ।
चौधरी समुदायका तर्फबाट चौधरीले माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई एक
पत्र लेख्दै पशुपंक्षी बली निरुत्साहित गर्न आग्रह गर्नुभएको हो ।


