प्रधानमन्त्री रोजगार कार्यक्रममा माडीका ‘बेरोजगारहरु’ले फारम भर्दै

287
SwadeshPost

संघीय सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन माडी नगरक्षेत्रका बेरोजगार व्यक्तिहरुले फारम भरिरहेका छन् । गत शुक्रबारसम्म माडीका वडा कार्यालयहरुमा ३ देखि २५ वटासम्म फारम संकलन भएको माडी नगरपालिकाका रोजगार संयोजक यमुना ढकालले जानकारी दिनुभयो ।

बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने प्रावधान रहेको सो कार्यक्रमका लागि आउँदो चैत मसान्तसम्म फारम बुझाउने म्याद रहेको छ । कार्यक्रम अन्तरगत दिनको रु ५१७ का दरले वर्षको कम्तीमा १०० दिन रोजगार दिइने र वर्षभरी नै काम नपाए उक्त अवधीमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ ।

नेपालभर रहेका बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउने भन्दै संघीय सरकारले घोषणा गरेको यस कार्यक्रम अन्तर्गत हाल देशैभरका स्थानीय तहमा बेरोजगारहरूको फारम संकलन जारी रहेको छ । कार्यक्रममा सरिक हुन चाहने बेरोजगारहरुले आफ्नो बसोबास रहेको वडाको कार्यालयमा गई फारम भर्न सक्नेछन् ।

SwadeshPost