आधारभूत विद्यालय बघौंडाद्वारा विद्यार्थी बचत कोष कार्यक्रम सुरू

501
SwadeshPost

नयाँ शैक्षिक सत्रको सुरुवातसंगै माडी नगरपालिका-३, बघौंडास्थित आधारभूत विद्यालय बघौंडाले विद्यार्थीको नाउँमा बचत कोष कार्यक्रम ल्याएको छ ।

कार्यक्रम अन्तरगत, विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुबाट मासिक न्यूनतम् रु १०० अनिवार्य बचत उठाइनेछ । विद्यार्थीहरुले सोभन्दा धेरै रकम समेत कोषमा जम्मा गर्न सक्नेछन् । विद्यार्थीले प्राथमिक स्तरको अध्ययन पुरा गरेसंगै सो अवधीभर संकलित रकम व्याजसहित फिर्ता गर्ने विद्यालयको योजना रहेको विद्यालयका प्रधानाध्यापक शिव पाठकले जानकारी दिनुभयो । त्यसैगरी विशेष अवस्थामा सो रकम बिचमै फिर्ता समेत हुने प्रावधान रहेको प्रधानाध्यापक पाठकको भनाई छ ।

आधारभूत विद्यालय बघौंडाले अन्य सामुदायिक र संस्थागत विद्यालयको तुलनामा राम्रो शैक्षिक नतीजा हासिल गरिरहेको अवस्था रहेकोमा अभिभावकहरुले सो विद्यालयमा विद्यार्थी भर्ना गरे नीजि विद्यालयहरुमा तिर्नु परिरहेको मासिक रकम बचत भई एकमुष्ठ फिर्ता पाउनसक्ने विद्यालयले जनाएको हो । गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा हाम्रो प्रतिवद्धता भन्ने नारासहित सञ्चालित सो विद्यालयमा हाल कक्षा १ देखि ५ सम्म १३१ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

SwadeshPost