माडी नगरक्षेत्रमा सामाजिक सुरक्षा भत्ता बैशाख ८ गतेबाट वितरण हुने

307
SwadeshPost

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम माडी नगरक्षेत्रमा आउँदो बैशाख ८ गतेबाट वितरण हुने भएको छ ।

नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागले वर्षेनी तीन–तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा (एकल महिला), अपांग, दलित, लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । माडी नगरवासी सुचिकृत लाभग्राहीहरुलाई कृषि विकास बैंक माडी शाखामार्फत भत्ता वितरण हुनेगरेको छ ।

जारी त्रैमासिक अवधीको भत्ता वितरण अन्तरगत आउँदो बैशाख ८ र ९ गते माडी नगरपालिका वडा नं. ३ का बृद्धबृद्धा, एकल महिला, अपांग, दलित लगायतका लाभग्राहीहरुलाई भत्ता वितरण हुनेछ । त्यसैगरी बैशाख १० र ११ गते माडी नगरपालिका वडा नंं ४, बैशाख १२ र १३ गते माडी नगरपालिका वडा नंं ५, बैशाख १५ र १६ गते माडी नगरपालिका वडा नंं ६ तथा बैशाख १७ र १९ गते माडी नगरपालिका वडा नंं १ का लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।

त्यसैगरी, बैशाख २० र २२ गते माडी नगरपालिका वडा नंं २, बैशाख २३ र २४ गते माडी नगरपालिका वडा नंं ७, बैशाख २५ र २६ गते माडी नगरपालिका वडा नंं ८ र बैशाख २७ र २९ गते माडी नगरपालिका वडा नंं ९ का बृद्धबृद्धालाई वितरण गरिने कृषि विकास बैंक माडी शाखाले जानकारी दिएको छ । बैंकले एक सुचना प्रकाशित गरी प्रतिदिन १५० देखि बढीमा २ सय जना लाभग्राहीहरुलाई भत्ता वितरण गर्न सक्ने जनाएको हो ।

SwadeshPost