घाँघर र जीवनपुर खोलाको पुल निर्माणामा गुणस्तरहीन सामाग्रीकाे प्रयाेग

316
SwadeshPost

मध्यपूर्वी माडीको घाँघर र जीवनपुर खोलामा बनिरहेको पक्की पुलमा स्थानीय खोलाकै गिट्टी बालुवा जस्ता निर्माण सामग्रीहरु प्रयोग भएको भन्दै स्थानीयबासीहरुले चासो व्यक्त गरेका छन् । सामान्यतः घर निर्माणमा समेत प्राविधिकहरुले सिफारिस नगर्ने स्थानीय खोलाका गिट्टी बालुवाहरुकै प्रयोग गरी पुल निर्माण भइरहेसंगै स्थानीय बुद्धिजीविहरु शसंकित भएका हुन् ।

पुल निर्माणको ठेक्का पाएको सपना एण्ड लोहनी जे.भी.का सञ्चालक शंकर लोहनीले भने ठेक्का सम्झौतामै स्थानीय निर्माण सामग्री प्रयोग गर्ने भनिएबमोजिम माडीकै मगोई खोलाबाट बालुवा उठाएको बताउनुहुन्छ । मगोईको बालुवालाई पानीले धोई प्रशोधन पश्चात मात्रै प्रयोग गरेको उहाँको दावी छ तर स्थानीयबासीहरुले भने बालुवा धोएर प्रशोधन गरेको नदेखिएको जनाएका छन् ।

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत वातावरणीय प्रभाव मुल्यांकन पास गरी घाँघर र जीवनपुर खोलामा दुईतर्फी पक्की पुल निर्माण जारी रहेको हो । लामो समयसम्म पुल निर्माणमा रहेको अवरोध हटेसंगै धमाधम पुल निर्माण भइरहँदा स्थानीय निकाय र स्थानीयबासीहरु खुसी पनि छन् । तर यसै सन्दर्भमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भए नभएको अनुगमनमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको भने देखिएको छैन ।

SwadeshPost