दि लेप्रोसी मिसन नेपालकाे पेष्ड परियोजनाको स्वामित्व हस्तान्तरित

279
SwadeshPost

दि लेप्रोसी मिसन नेपालले सञ्चालन गरेको सामुदायिक शसक्तिकरण र विकासका लागि सहभागितामूलक कार्यक्रमको स्वामित्व माडीका चारवटा कृषि सहकारीहरुलाई हस्तान्तरण गरिएको छ । माडीको ईको सामुदायिक कृषि सहकारी संस्था बरुवा, छरछरे सामुदायिक कृषि सहकारी संस्था नयाँपिपरिया, कल्याणपुर कृषि सहकारी संस्था लिमिटेड कल्याणपुर र अयोध्यापुरी कृषि सहकारी संस्था लिमिटेड देबेन्द्रपुरले सो परियोजनाको स्वामित्व ग्रहण गरेका हुन् ।

माडीका अपांग र कुष्ठ प्रभावित व्यक्तिहरुको सामाजिक विकास, आयआर्जन बृद्धि र आर्थिक स्वावलम्बनका लागि अष्ट्रेलियन सहयोगमा दि लेप्रोसी मिसन नेपालले ५ बर्षका लागि सो परियोजना सञ्चालन गरेको थियो । संक्षेपमा पेष्ड परियोजना भनिएको सो कार्यक्रम गत २०७१ सालको भदौमा सुरुवात भई हाल करीब अन्तिम चरणमा आइपुगेको परियोजनाका कार्यक्रम अधिकृत नाती देशारले जनाउनुभयो ।

अपांग उत्थान समन्वय समिति माडीका अध्यक्ष यम बहादुर परियारको अध्यक्षतामा बसन्तपुर बजारस्थित शिखर पार्टी प्यालेसमा परियोजनाको स्वामित्व हस्तान्तरण कार्यक्रम सञ्चालित भएको थियो । नगरपालिकाका सहकारी संयोजक एवं वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका सहभागीहरुले परियोजना सञ्चालनको प्रभावस्वरुप माडीका अपांग समुदायको मुल प्रवाहीकरणका साथै माडीमा कुष्ठ प्रभावित रोगीहरुको उपचारमा महत्वपूर्ण उपलब्धी कायम भएको प्रतिक्रिया दिएका छन् ।

SwadeshPost