माडी नगर क्षेत्रमा प्लास्टिकजन्य पदार्थहरुको प्रयोग न्यूनिकरण गरिने

254
SwadeshPost

माडी नगर क्षेत्रमा प्लास्टिकजन्य पदार्थहरुको प्रयोगमा न्यूनिकरण गर्दै लैजानुपर्नेमा एक कार्यक्रमका सहभागीहरु सहमत भएका छन् ।

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा माडी नगरपालिकाको सभाहलमा प्लास्टिक झोला न्यूनिकरणका लागि समन्वयात्मक बैठक सम्पन्न भएको हो । सो बैठकका सहभागीहरुले माडी क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने उद्देश्य राखी क्रमशः प्लास्टिक झोलाहरुको प्रयोग घटाउँदै लैजाने नीतिगत व्यवस्था गर्न सहमत भएका हुन् ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, विभिन्न वडाका वडाध्यक्षहरु, माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरु, सिप नेपालको प्रतिनिधीमण्डल र अन्य सरोकारवाला निकायहरुको संयुक्त बैठक सम्पन्न भएको थियो । बैठकमा माडी नगरपालिकाको आसन्न नगर परिषद्बाट प्लास्टिकको प्रयोगमा न्यूनिकरण गर्ने नीति बनाउँदै लैजाने र प्लास्टिकका झोलाको बिकल्पस्वरुप कागज र कपडाका झोलाहरु प्रयोग गर्न उत्प्रेरित गर्ने सहमती भएको हो ।

यसैबिच, बघौंडा मध्यवर्ती उपभोक्ता समितिले माडीको बसन्तपुर बजारमा प्लास्टिकका बोत्तल संकलन गर्ने डस्टबिन मोडलका केजहरु राख्ने भएको छ । त्यसैगरी समितिले माडी नगरपालिका वडा नं. ३, ४ र ५ मा कपडाको झोला वितरण गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

SwadeshPost