माडी ५ का किसानहरुको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु हस्तान्तरण

513
SwadeshPost

माडी नगरपालिका वडा नं ५ द्धारा वडाका किसानहरुको लागि ५० प्रतिशत अनुदानमा बिहीबार कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं ५ को १० लाख र किसानहरुको १० लाख गरि कुल २० लाखको लागतमा वडाका ४५ जना किसानहरुलाई कृषि सामाग्रीहरु वितरण गरिएको हो ।

कृषि सामाग्रीहरु अन्तरगत वडा नं ५ का दुग्ध व्यवसायीहरुको लागि अटो रिक्सा, कृषक तथा कुखुरा व्यवसायीहरुको लागि ४ थान डिजिटल काँटा, कुखुरा व्यवसायीहरुको लागि लागि अटो ड्रिङकर वितरण गरिएको छ । त्यस्तै, पावर ट्रेलर (हाते ट्याक्टर) १ थान, २ जनालाई मिनि रिपर, ३ जनालाई घाँस काट्ने मेसिन, सिंचाइको लागि जेनेरेटर १ थान, धान कुट्ने विधुतीय सेलर मिनी मिल, १० जनालाइ बोरीङ मोटर, ८ जनालाई दुधक्याम्प, खेतबारी तथा बगैँचाको लागि २ वटा ब्याट्री स्प्रे, खरायोपालक किसानहरुको लागि मेसजाली लगायतका सामाग्रिहरु वितरण गरिएको माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले जनाउनुभयो ।

माडीमा आधुनिक कृषी पद्धती अपनाउदै माडीका कृषक तथा व्यवसायीहरुलाई आधुनिकिकरण तर्फ प्रोत्साहन गर्ने उद्धेश्यल सो सामाग्रिहरु वितरण गरिएको र यस किसिमका अनुदानका कार्यक्रमहरु आगामि दिनहमा समेत ल्याउने वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।
माडी नगरपालिका वडा नं ५ अन्तरगको कृषि तथा पर्यटन उपभोक्ता समितिको आयोजनामा सम्पन्न कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा माडी नगर उपप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल विशिष्ट अतिथि रहनुभएको थियोभने माडी नगरपालिका अन्तरगत कृषि शाखा , शिक्षा शाखा प्रतिनिधि, वडा सदस्यहरु र वडा नं ५ का कृषक तथा व्यवसायिहरुको सहभागिता रहेको थियो ।

SwadeshPost