निकुञ्जमा ग्राभेलिङको काम सुरुवात भएलगत्तै प्रशासनबाट अवरोध

304
SwadeshPost

माडी उपत्यका र योसंग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा सडक र पुलजस्ता संरचना बनाउन सुरु हुनासाथ अवरोध भइहाल्ने रोग पुनः देखिएको छ ।

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा ग्राभेलिङ गरी बाटो स्तरोन्नतिको काम सुरुवात भएलगत्तै निकुञ्ज प्रशासनबाट अवरोध भएको हो । मंगलबार बिहान ग्राभेल झार्ने काम सुरुवात हुनासाथ मध्यान्ह १२ बजेबाट निर्माणकार्य रोकिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले विनियोजन गरेको ६० लाख रुपैंयाबाट बनकट्टा–कसरा खण्ड र बगहीँ–अमुवा खण्डमा सडक मर्मत कार्य हुन लागेको थियो । तर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालद्वारा उपभोक्ता समिति मार्फत निर्माण कार्य गर्न नमिल्ने जिकिर सहित काम रोकिएको जनाइएको छ ।

उपभोक्ता समितिले निकुञ्जबाट पूर्व स्वीकृत नलिएको कारण देखाउँदै काम रोकिएको भनिएपनि समितिले निकुञ्ज प्रशासनलाई निर्माणकार्यबारे सुरुमै जानकारी गराएको बनकट्टा–कसरा खण्डमा बाटो स्तरोन्नतिको जिम्मेवारी पाएको समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले जनाउनुभयो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले समेत निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालसंग कुराकानी गरि निर्माणकार्यमा सहजिकरण गरेको बताउनुभएको थियो ।

निकुञ्ज खण्डमा यसअघि उपभोक्ता समितिमार्फत नै सडक स्तरोन्नति हुनेगरेको थियो । तर यसपटक सो सडक खण्डमा आयोजना आफैले बाटो निर्माण गर्नुपर्ने निकुञ्ज पक्षको भनाई छ । आयोजनाले भने एक करोड रुपैंया भन्दा ठूलो बजेटको योजनामात्रै आफैले सञ्चालन गर्न मिल्ने जनाउँदै समितिमार्फत काम गर्न नसकिए बजेट फ्रिज हुने चेतावनी दिएको छ । समस्या समाधानका लागि तत्काल नगरप्रमुख ढकालले सहजिकरण गर्नुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख कुमार प्रसाद घिमिरेको भनाई छ ।

SwadeshPost