बाघको आक्रमणमा परी घाइते सुवेदीको उपचारको क्रममै निधन

122
SwadeshPost

बाघको आक्रमणमा परी घाइते हुनुभएका माडी कल्याणपुरका गंगाधर सुवेदीको उपचारको क्रममै निधन भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहनुभएका उहाँको आज शनिबार दिउँसो करीब ३:३० बजे मृत्यु भएको रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीले जानकारी दिनुभयो ।

गत असार ३ गते दिउँसो करीब १२:४० बजे माडीको सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी अन्दाजी ६० बर्षका सुवेदीलाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेलगत्तै नजिकै रहेका गोठालाहरुले होहल्ला गर्दै बाघलाई धपाएका थिए । उहाँको टाउको र शरीरका अन्य भागहरुमा गहिरो घाउ लागेको थियो ।

उपचारको क्रममा उहाँको टाउकोको सफल शल्यक्रिया भएको भएपनि आज अचानक उहाँको मृत्यु हुनपुगेको हो । उहाँको आज नै देवघाटमा अन्तिम संस्कारसहित अन्त्येष्ठी गरिने परिवार श्रोतले जनाएको छ ।

SwadeshPost